–बिचारी काका,
तपाईँ एम अधिकारीलाई चिन्नु हुन्छ ? त्यही एम अधिकारी जसको नाम छ, मान्छे छैन ।
मान्छे विनाको नाम हुन्छ ?
हुन्छ ।
कस्तो हुन्छ ?
एम अधिकारी जस्तो हुन्छ ।
मतलब, ‘सिए साप’ जस्तै ?
हो त्यस्तै ।
पछिल्लो समय नेपाली राजनीतिमा पात्र विनाका परिचयहरूको व्यापक खोजी भइरहेको छ । जस मध्येका दुई परिचय हो ‘सिए साप’ र ‘ एम अधिकारी’ ।
जसको सनाखत हुन नसक्दा पूर्व प्रधानमन्त्री प्रचण्डले भने जस्तै देश दुर्घटनामा जान सक्ने अवस्थामा पुगेको छ ।
तर यी दुई पात्रको अस्थिपञ्जरको निकुञ्ज भने थैलोलाई मैलो पार्ने देखिन्छ ।
अर्थमन्त्रीको राजीनामा दिलाउन मुख्य मतियार बनेका सिसि क्यामेराको फुटेजसँगै गुल भएका ‘सिए साप’ जो दुनियाँमा छन्, पनि छैनन् पनि ।
अनि, देश कै ‘बा’ लाई ‘आमा’ भन्ने बनाउने गरी ऐँठन पार्ने ‘ एम अधिकारी’ को पनि हुलिया खुलिसकेको छैन ।
यी परिचय नखुलेका आत्माहरूले तहल्का भने व्यापक मच्चाएका छन् ।
‘ मध्य रातमा जब बजेटमा चुकुल लाग्यो’
‘ काे हुन् एम अधिकारी ?’
यी हेडलाइन्हरू हुन्, अब, प्वाइन्टमा कुरा गरै ।
माओवादी केन्द्रका नेता, अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले भोलि यानिकि जेठ १५ मा संसदमा टेबल गर्ने बजेटमाथि मन्त्रालयमा मध्यरात फाइनल टच अप हुँदै थियो ।
अर्थ सचिव मधु मरासिनी, राजस्व सचिव कृष्णहरि पुष्कर र अन्य दुई सहसचिवहरूले बजेटको गुदी केलाउँदै गर्दा फ्याट्ट दुई वटा उपियाँहरू आए र कर र भन्सारमा दुई वटा बिया झारेर रफुचक्कर भए ।
ती दुई गर्भवती उपियाँहरू मध्ये एउटा भन्सारका नायब सुब्बाका रूपमा अवकाशप्राप्त रघुनाथ घिमिरे हो, भन्ने किम्बदन्ती रहे पनि छ भने अर्का उपियाँको हुलियाको किंवदन्ती कथन पनि भेटिइसकेको छैन ।
तर नभेटिए पनि ‘सिए साप’ भनेर सनाखत गराएको समाचारका गोप्य स्रोतहरूले बताएका छन् ।
उनीहरूले झारेको बियाले रेडिमेड सेनेटरी प्याडको भन्सार छुट, कच्चा पदार्थमा भन्सार वृद्धि र इलेकट्रोनिक भेइकलको करको दरमा वृद्धि र छुट नामको धुलोमा ओथ्रेर चल्ला काढ्दिने भए छ ।
अब, त्यो ओथ्रेको चल्लाले बर्तामान प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवा मुख्य शेयर होल्डर रहको ब्लुप्रिन्ट ट्रेडिङ प्रालि र सिजिका मालिक चौधरी साहबको नाममा पेटेन्ट रजिस्टर हुने धेरैको दुखेसो छ ।
यो मुख्य बियाको रूपमा आए पनि अरू धेरै बियाहरू झारेको आशङ्का छ जसमा, खाने तेल, जुत्ता, टायल्स, फलम, विद्युत् महसुल, निकासी अनुदान, हदबन्दी, स्वास्थ्य बिमा लगायतका कुराहरू छन् ।
खैर, ती दुई उपियाँले भने कर र भन्सारमा छुट र वृद्धिलाई आफ्नो निकुञ्ज बनाए भन्नेमा गन्ने मान्ने देखी तान्ने, हान्ने, उचाल्ने, पछार्ने र थेचार्नेहरूको एउटै स्वर छ ।
नाइरोबी फ्लाइको गुण भएको रातको समयमा बत्ती बालेका ठाउँमा मात्र आउन चाहने हुलिया बेगरेको एलियन जस्तो देखिने ‘ सिए साप’ त्यही मध्यरातबाट लापता भएका भए ।
यत्ति कुरो बजारमा आइसकेपछि हजार सिए सापको खोजीमा छ भने लाख भुलभुलैयामा छ ।
अर्थमन्त्री शर्मा पनि मेलामा छुटेको सिए सापको खोजी गर्न थैलोलाई ढुकुटीमा जम्मा गरेर दिलोज्यान लागेर खोजीमा जुटेका छन् । तर ढुकुटीका अधिपतिलाई भने यति बेला अर्को चिन्ताले सताइरहेको छ ।
त्यो हो । एम अधिकारी खै ?
अमेरिकाको नसाले पासा फ्याँकेर पनि गोहो पहिल्याउन नसकेको ‘एलियन’ र त्यही वर्गका अर्थमन्त्री नामको युएफओ विमान चढेर आएका ‘सिए साप’को तावडतोड खोजीमा निक्लिएको एमाले जनको बाइपङ्खी घोडाको खुरा ठ्वाक्क ढुङ्गोमा बजारिएको छ ।
कुरो उही हो । हात्ती जुम्रे कथा ।
खैर, एम अधिकारीको गोहो पनि थैलो नै हो भन्ने क्यारेक्टर डिटेक्टरले अनुमान लगाएको छ । विख्यात वैज्ञानिकको अनुसन्धान टोलीले सनाखत गरिनसकेको अवस्था भए पनि रैथानेहरूले शिलालेखमा भेटिएको तिथि मिति र औँठाछापको कार्बन डेटिङ परीक्षणको माग गरेका छन् । अ
धिपतिले धमिलो चस्मा पुछ्दै औलो सोझ्याएका छन् ।
यस अघि नै आफूतिर औला सोझिने डरले थैलेका एक मठाधिसले ‘ यस शृङ्खलाको पात्र काल्पनिक हुन्, मसँग मेल खान गएमा संयोग मान्नुहोला ’ भनिसकेका छन् ।
संसारमा ‘एम अधिकारी’ पनि छन् भन्न परम तपस्याबाट महाऋषिले सुनेको त्यो आकाशवाणीमाथि अष्टावक्रले चुनौती दिन थालेपछि महर्षि आकाश तर्फ फर्केर अर्को दिव्य वाणीको पर्खाइमा छन् ।
यो देखेर विचलित भएका शिष्यहरूले कुशको ‘ एम अधिकारी’ तयार गरेर यज्ञको हवन कुण्डमा घृतम्ः अर्घ दिएर सनाखताय नमः भन्दिए ।
२१ औँ शताब्दीको मतुवाली गाउँको जाडसँगै हुर्केको कुश परेछ । ‘ चिन्दिन’ भनेर ढलेपछि एमाले जन घनो बाँस काटै की तामो सारै भन्ने अलमलमा परेको छ ।
केही समयपछि यी दुवै एलियन नेपालको राजनीतिमा सुरक्षित अवतार हुनेछन्, त्यसपछि अनुहार हेरेर मामली र बाउँ पट्टीका छुट्टिएला तर, सनाखत नभएका यीनीहरूको उडन्ते अन्तरिक्ष विशेषज्ञ त्यो अनुसन्धान टोलीले मुचुल्का कसरी उठाउला ।
अनि यो भुलभुलैयामा भुलिएका हामी भुसलाई भगवान् मान्ने पनि भुस नै हौँ ।