धरानमा अन्तर विद्यालय स्तरीय दोस्रो यु १८ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल टुनार्मेन्ट २०८० हुने भएको छ ।
भाद्र २५ गते देखी ३० गतेसम्म हुने बास्केटबल टुनार्मेन्टमा भाग लिन सुनसरी, झापा र धनकुटाका १६ वटा टिम सहभागी हुने आयोजक टिमले जनाएको छ ।
शुक्रबार आयोजक धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बुले पत्रकार सम्मेलन गरी टुनार्मेन्टको सम्पूर्ण तयारी भएको जानकारी दिएका छन् ।
प्रतियोगिताका लागी कक्षा १० का ६ जना र ११ र १२ मा अध्ययनरत ६ जना विद्यार्थीलाई टिममा सामेल गर्न सकिने आयोजनाले जनाएको छ ।
टिममा सहभागीको खेलाडीको उमेर १९ वर्ष नपुगेको हुनुपर्ने आयोजकले बताएको छ ।
प्रतियोगिताका विजेताले नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष लिम्बुले जानकारी दिएका छन् ।
उनका अनुसार प्रतियोगितामा मोस्ट भ्यालुएबल पुरस्कार अन्तरगत उत्कृष्ट खेलाडीलाई नगद २ हजार ५०० र ट्रफी र प्रमाणपत्र, उत्कृष्ट स्कोर नगद २ हजार ट्रफी र प्रमाणपत्र, थ्री पोइन्ट च्याम्पियन नगद २ हजार ट्रफी र प्रमाणपत्र, उदयमान खेलाडीलाई ट्रफी र प्रमाणपत्र प्राप्त दिइने लिम्बुले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन खेल आयोजक धरान मेघा र होलील्यान्ड स्कुलबिच हुने आयोजकले बताएका छन् । सम्पूर्ण खेल आयोजक धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न हुने आयोजकले जानकारी दिएका छन् ।
१६ वर्षको उमेरमा २०७७ माघ २० गते धरानका उदीयमान बास्केटबल खेलाडी रहेका दिवङ्गत रेवाहाङ रुछेबुङ राईको निधनपछि उनको सम्मानमा अभिभावक आमा सुजाता राई र बुबा रेवती रमण राई ले २ लाख बराबर रकमको अक्षयकोषको स्थापना गरी धरान मेघा हिमालयन कलेज र धरान बास्केटबल सङ्घको सहकार्यमा गत वर्षदेखि उक्त प्रतियोगिता आयोजना हुँदै आएको छ ।