पोखराको मणिपालमा अस्पतालमा डाक्टरमाथि भएको हातपात भएको विरोधमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरूले इमर्जेन्सीसमेत बहिष्कार गरेका छन् ।
सोमबार लमजुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको थियो । महिलाको मृत्यु भएपछि मृतकका आफन्तसहितको भिडले डाक्टरले लापरबाही गरेको भन्दै हातपात गरेका थिए ।
उक्त घटनालाई लिएर डाक्टरमाथि हातपात गर्नेलाई कडा कारबाही गरिनु पर्ने भन्दै देशैभरका आवासीय चिकित्सकहरूले कुनै पनि सेवामा सहभागी नहुने आकस्मिक घोषणा गर्दै आन्दोलनमा उत्रिएका छन् । सोही अनुरूप मंगलबारबाट प्रतिष्ठानका जुनियर रेसिडेन्ट (आवासीय चिकित्सक)हरुले इमर्जेन्सी सेवासमेत बहिष्कार गरेर आन्दोलनमा उत्रिएका छन् ।
डाक्टरहरू आन्दोलनमा उत्रिएपछि उपचारकालागि प्रतिष्ठान आएका बिरामीहरू अलपत्र परेका छन् । प्रतिष्ठानको गाइनो इमर्जेन्सी, बच्चा इमर्जेन्सी, ओपिडी र वार्डमा जुनियर रेसिडेन्टहरु नहुँदा बिरामीहरूको उपचारमा कठिनाइ भएको छ ।
पूर्व सूचना बिनै एक्कासि जुनियर रेसिडेन्टहरु आन्दोलनमा उत्रिएपछि उनीहरूकै भरमा चलेको प्रतिष्ठानको उपचार सेवामा प्रभावित भएको छ । मंगलबार ओपिडीमा उपचारका लागि आएका बिरामीहरूलाई कन्सल्टेन्ट मार्फत उपचार दिएको थियो ।
सोमबार राती मात्र रेसिडेन्ट एलायन्सले सबै काम छोड्ने घोषणा गरेपछि जेआरहरु एक्कासि आन्दोलनमा उत्रिदा अस्पताल प्रशासनलाई मंगलबार जनशक्ति व्यवस्थापन गर्न धौ धौ परेको थियो ।
मुख्य इमर्जेन्सीमा भने मेडिकल अफिसरहरू भएको कारण जेआरहरुले काम छोड्दा पनि उपचार सेवालाई प्रभावित हुन नदिइएको प्रशासनले बताएपनि अत्यधिक चाप हुने इमर्जेन्सीमा चिकित्सकहरू दबाबमा रहन्छन् ।
प्रतिष्ठानका जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष अच्युत न्यौपानेले आकस्मिकरुपमा आन्दोलन भएको बताएका छन् । उनले इमर्जेन्सीमै असुरक्षित भएपछि सबै काम छोड्न बाध्य भएको बताएका छन् । उनले केन्द्रीय सङ्घर्ष समितिले अघि सारेका मागहरू पुरा नभएसम्म आवासीय चिकित्सकहरू काममा नफर्कने पनि बताए ।