बाँके, २०८१ भदौ १० – बाँके जिल्लाको नेपालगंज उप-महानगरपालिकाबाट करोड भन्दा बढी मुल्यको अबैध सुनसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । वडा नम्बर ११ बी.पी. चोक आसपासमा अवैध सुनचाँदीको कारोबार भइरहेको विशेष सूचनाको आधारमा छापा मार्दा प्रहरीले ४०७ ग्राम अबैध सुन र चाँदी १० केजी ६१३ ग्राम सहितचारजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
पक्राउ पर्नेमा जिल्ला बर्दिया, राजापुर नगरपालिका-८ का ४० वर्षीय नेपाली थारु, सोही ठाउँका ४२ वर्षीय निम प्रकाश सुनार, नेपालगंज उप-महानगरपालिका-११ का २१ वर्षीय राहुल सोनार र बाँके राप्तीसोनारी गाउँपालिका-४ का २४ वर्षीय ओम जङ्ग चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन् ।
प्रहरीले चेकजाँच गर्ने क्रममा प्रदेश ०३०१-०२४ च ६७६३ नम्बरको कारमा सवार रहेका निम प्रकाश सुनारको साथबाट ६७ ग्राम तौलको सुन जस्तो देखिने धातुको टुक्रा र राहुल सोनारको साथबाट १७२ ग्राम तौलको चाँदी जस्तो देखिने पायल र तार बरामद गरेको थियो। थप अनुसन्धान गर्दै जाँदा प्रहरीले नेपालगंज उप-महानगरपालिका वडा नं. २ स्थित महेश मुराउले संचालन गरेको पशुपती सुनचाँदी रिफाइन कारखानामा पनि तलासी गर्दा ३४० ग्राम तौलको सुन जस्तो देखिने धातु र १० केजी ४४१ ग्राम तौलको चाँदी जस्तो देखिने धातु फेला पारेको छ।
पक्राउ परेका व्यक्तिहरुलाई सवारी साधनसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर बाँकेमा पठाइएको छ। बरामद गरिएको सुन ४०७ ग्राम र चाँदी १० केजी ६१३ ग्राम गरी जम्मा १ करोड ५ लाख ३३ हजार ४४७ रुपैयाँ बराबरको अवैध कारोबार फेला परेको छ।
सुरुमा सामान्य जाँचको रूपमा सुरु भएको यो कारवाहीले ठूलो अवैध कारोबारको पर्दाफास गराएको छ, जसले बाँके र आसपासका क्षेत्रमा अवैध धातु कारोबारको विषयमा गम्भीर प्रश्न उठाएको छ।