विराटनगर – मोरङ जिल्लाको विराटनगर महानगरपालिकाबाट अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भदौ १८ गते महानगरपालिका १२ का २० वर्षका उत्सव अर्याल र १८ वर्षका उत्कृष्ट अर्याललाई अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरिएको हो।

कार्यालयका  प्रहरी प्रवक्ता नायब उपरीक्षक ज्ञानेन्द्र वहादुर बस्नेतका अनुसार उनीहरूले एन्ड्रोइड मोबाइलमा वान एक्स बेट लगायतका एप्स डाउनलोड गरी अनलाइन सट्टेबाजी सञ्चालन गरिरहेको पाइएको थियो ।

 प्रहरीले उनीहरूको घरमा तलाशी गर्दा कम्प्युटरको सीपीयू, राउटर र दुई थान मोबाइल बरामद गरेको छ।

साथै, उनीहरूले अनलाइन डिजिटल खाताहरू प्रयोग गरी सट्टेबाजीको लेनदेन गरिरहेको समेत पाइएको प्रहरीले जनाएको छ। 

 पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम सट्टेबाजी गर्न नहुने कसुरमा म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

अनलाइन मार्फत हुने सट्टेबाजीलाई अनलाइन ठगी गैरकानुनी लेनदेनको रूपमा लिइन्छ। यसमा संलग्न व्यक्तिलाई पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ।

 डिजिटल माध्यम प्रयोग गरेर हुने ठगीमा सजाय अझ कडा हुनसक्छ, विशेष गरी यो संगठित अपराधमा परिणत भएमा ।