झापा जिल्लाको हल्दिबारी गाउँपालिका-३, रमाईलो चोकस्थित एक  घरमा आगलागी हुँदा ठूलो क्षति भएको छ।

आज बिहान २:२० बजे, हुलाकी राजमार्गको दक्षिण किनारमा रहेको तारा बल गिरीको दुईतले  घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

कार्यालयका अनुसार आगलागीका कारण गिरीको भुइँ ढलान गरेको इटाको बेर गरी काठको तला हालेर बनाइएको ६ कोठे घर र घर  पछाडिको गोठ पूर्ण रूपमा नष्ट भएको छ।

गोठमा रहेका ९ वटा खसी बाख्रा जलेर मृत्यु भएको छ भने १ वटा बाछा जलेर घाइते भएको छ।

घरभित्र भण्डारण गरिएको धान, चामल, मकै, र गहुँसहित करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको कार्यालयले जनाएको छ । 

आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी चौकी जलथलको टोली घटनास्थलमा पुगेको थियो ।  स्थानीय बासिन्दा र भद्रपुर तथा मेचीनगर नगरपालिकाका दमकलको सहयोगमा बिहान ४:०० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

अहिलेसम्म आगलागीको कारण खुलेको छैन र घटनाको थप अनुसन्धान भइरहेको कार्यालयले जनाइएको छ।