कोशी ब्यारेजमा जलस्तर खतराको बिन्दु नाघेसँगै राताे झण्डा फहराइएको छ। बहाव ५ लाख २१ हजार ४ सय ५५ क्युसेक पुगेको छ र सबै ५६ ढाेका खुला गरिएका छन्। जलस्रोत विभाग पटनाले ब्यारेजमा पानीको प्रवाह ७ लाख क्युसेकसम्म पुग्न सक्ने अनुमान गरेको छ।
हालसम्म सुनसरीका तटीय क्षेत्रमा कुनै ठूलो क्षति भएको छैन भनेर स्थानीय प्रशासनले जानकारी दिएको छ। यद्यपि, बिचडिग्री टापुमा फसेका २७ जना गोठालाको उद्धारमा कठिनाइ भइरहेको छ। खराब मौसमका कारण उद्धारका लागि हेलिकप्टर परिचालन हुन सकेको छैन भने सुरक्षाकर्मी टोली पनि उद्धारका लागि जान सकेका छैनन्।
पुल माथिबाट पानी बगेपछि कोशी ब्यारेजमा आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ। परिस्थिति बुझ्न प्रदेश १ का मुख्यमन्त्रीसहित नेपाल र भारतका उच्च अधिकारीहरू कोशी ब्यारेज पुगेका छन्।
सुरक्षाकर्मी र उद्धार टोली उद्धार कार्यमा जुटेका छन् भने थप क्षति नपुगाेस् भनेर प्रशासनले सबैलाई सतर्क रहन आग्रह गरेको छ।